बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

  ०७६ जेठ ३२ गते

१४ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै १६ वर्षीय बालकलाई जिल्ला अदालत मकवानपुरले जेठ ३१ गते सात वर्ष कैदको फैसला सुनाएको छ ।

भने अदालतले पीडित बालिकालाई पीडकबाट एक लाख रुपियाँ क्षतिपूर्ति स्वरुप उपलब्ध गराउन आदेश गरेको अदालतका श्रेष्तेदार केशवराज कौशिकले बताए ।

न्यायाधीश खडानन्द तिवारीको जेठ ३१ गते शुक्रबार बसेको बाल इजलासले १६ वर्षीय बालकलाई १४ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

१८ वर्ष नपुगेकोले दुई वर्ष सुधार गृहमा राख्न र १८ वर्ष पुरा भएपछि बाँकीको ५ वर्ष सजाय कारागारमा बस्ने गरी जिल्ला न्यायाधीश खडानन्द तिवारीले फैसला सुनाए । बालक अहिले हेटौँडा उमनपा–११ थानाभर्‍याङ स्थित बाल सुधारगृहमा छन् ।


पुष्पराज अधिकारी