बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजाय फैसला

  ०७७ चैत ४ गते

४३ वर्षीया महिलालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा जिल्ला अदालतले बागलुङ नगरपालिका–१२ अमलाचौरका ४० वर्षीय लिला बहादुर विकलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत ३ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी कसुरमा आरोपितलाई सात वर्ष कैद सजाय र ८० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको बागलुङ जिल्ला अदालतका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७६ वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

घटनापछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध जिल्ला अदालत बागलुङमा ०७६ पुस २९ गते जबरजस्तीकरणी अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।


सिर्जना पन्त