बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

  ०७६ फागुन २० गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा १८ वर्षीय बालकलाई दैलेख जिल्ला अदालतले नौ वर्ष कैद र पीडितलाई ३५ हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले फागुन २० गते उक्त फैसला सुनाएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।

घटनामा संलग्न भनिएका बालक १८ वर्ष मुनिको भएकाले बाल न्याय कार्यविधि अनुसार वयस्कलाई हुने सजायको दुई तिहाई सजाय कम हुने व्यवस्था अनुसार सो सजाय भएको अदालतले जनाएको छ ।
घटनामा संलग्न बालबालिकालाई सुध्रन सक्ने अवस्थामा कैद तोकेर पनि अभिभावकको जिम्मेवारीमा छोडन सक्ने गरी सजाय स्थगन गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिनु भयो ।

सुध्रन सक्ने सम्भावना र पारिवारिक अवस्था समेतलाई विश्लेषण गरी बाल न्याय कार्यविधि २०६४ अनुसार बालकलाई सजाय तोकिए पनि अभिभावककै जिम्मा लगाउन अदालतको फैसलामा उल्लेख छ ।
घटनाका आरोपितले ०७६ असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।

आरोपितलाई दैलेख जिल्ला अदालतले खोजेको समयमा हाजिर गराउने सर्तमा भदौ ११ गते अभिभावकको जिम्मामा छोडेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २६ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो ।

 


अमर सुनार