बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

   ०७६ फागुन २ गते

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बराहक्षेत्र नगरपालिका–४ का ३७ वर्षीय लालबहादुर बस्नेतलाई फागुन १ गते १० वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी गोपाल गिरीले बताउनुभयो ।

आरोपितले ०७६ असोज १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका थिए ।

आरोपितलाई प्रहरीले असोज १ गते गिरफ्तार गरी कानूनी कारबाही अघि बढाएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १ गते गरिएको थियो ।


जयकृष्ण यादव