बलात्कार गरेको कसुरमा जन्मकैद सजाय फैसला

  ०७७ पुस १६ गते

४७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पीडितका ३० वर्षीय छोरालाई जन्मकैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत तनहुँका न्यायाधीश बासुदेव पौडेलको पुस १४ गतेको इजलासले कसुर ठहर गर्दै हाडनाता करणी र बलात्कार कसुरमा जन्मकैद सजायको फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७७ असोज ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ७ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।

पीडितको उजुरीपछि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले आरोपितलाई ०७७ असोज १९ गते गिरफ्तार गरेको थियो ।

आरोपितलाई जिल्ला अदालतको आदेशमा कात्तिक १५ गतेदेखि पुर्पक्षकोलागि थुनामा थिए । पीडितको स्वास्थ्य परीक्षण असोज ७ गते दमौली अस्पतालमा गरिएको थियो ।


प्रकाशचन्द्र भट्टराई