बलात्कार गरेको कसुरमा कैद तोक्न अदालतको आदेश

  ०७६ जेठ ३० गते

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा रामेछाप सुनापति गाउँपालिका–४ बेथान घर भई हाल बनेपा नपा–७ मा मा कोठा गरी बस्ने २५ वर्षीय अर्जुन भनिने विवेक खत्रीलाई जेठ २९ गते जिल्ला अदालत काभ्रेले अभियोग दावी पुग्ने अन्तिम आदेश गरेको छ ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासले अभियोग दावी पुग्ने फैसला सुनाइको हो । नयाँ मुलुकी अपराध संहिता अनुसार आरोपितलाई के कति सजाय गर्नु पर्ने हो भन्ने फैसला चाँही यस फैसलाको २१ दिनपछिको पेशीमा गरिन्छ ।

पीडित महिलालाई खत्रीले ०७५ भदौ २४ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले ०७५ भदौ २६ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी गरेकी थिइन् ।

आरोपित विवेकलाई ०७५ भदौ २६ गते प्रहरीले गिरफ्तार गरेको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७५ भदौ २५ गते प्रसूति गृह थापाथलीमा गरिएको थियो ।

यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले ०७५ असोज १९ गते जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो । जिल्ला अदालतको ०७५ असोज २१ गतेको आदेशमा आरोपितलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो ।


भोजराज तिमल्सिना