बलात्कार गरेको कसुरमा एक वर्ष कैदको फैसला

  ०७६ पुस १ गते

१५ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ललितपुर महानगरपालिका–१९ बस्ने ४४ वर्षीय दाजुलाई जिल्ला अदालत ललितपुरले मङ्सिर २९ गते एक वर्ष कैद सजाय र १० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ ।

हाडनातामा सजाय निर्धारण गरेको अदालतले जनाएको छ । जबरजस्ती करणी गरी आत्महत्या गर्न दुरूत्साहन गरेको अभियोगमा न्यायाधीश पिताम्बर शर्माको इजलासले कसुर ठहर गर्दैे उक्त फैसला सुनाएको जिल्ला अदालत ललितपुरका श्रेष्तेदार नगेन्द्रकुमार कालाखेतीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७५ फागुन २८ गते बलात्कार गरेको र त्यसको पीडाले सुसाइड नोट लेखी बालिकाले आत्महत्या गरेको भन्दै पीडित पक्षले ०७५ फागुन २८ गते महानगरीय प्रहरी परिसर, जावलाखेलमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई फागुन २८ गते नै गिरफ्तार गरेको थियो भने पीडित बालिकाको शवको पोष्टमार्टम फागुन २९ गते पाटन अस्पताल ललितपुरमा गरिएको थियो ।

आरोपितविरूद्ध प्रहरीले चैत २१ गते जिल्ला अदालत ललितपुरमा जबरजस्ती करणी गरी आत्महत्या गर्न दुरूत्साहन दिएको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।


दीपकप्रसाद घिमिरे