बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

  ०७७ चैत २० गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १८ वर्षीय बालकलाई जिल्ला आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत १९ गतेको इजलासले कसुर ठहर गर्दै बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ को उपदफा ३ बमोजिम आठ वर्ष कैद सजाय र ६० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।

पीडितलाई आरोपितले ०७७ कात्तिक १५ गते डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी मङ्सिर ७ गते जिल्ला अदालत बागलुङमा पेश गरेको थियो भने जिल्ला अदालत बागलुङको मङ्सिर ८ गतेको आदेशले आरोपितलाई बाल सुधार गृह सारङकोट पठाइएको थियो ।

अदालको फैसलापछि आरोपितले बाल सुधार गृहमै बसेर कैद भुक्तान गर्ने जिल्ला अदालत बागलुङका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो ।


सिर्जना पन्त