बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

  ०७६ मङ्सिर ३ गते

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रौतहट जिल्लाको रङ्गपुर घर भई महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने ३४ वर्षीय चक्रबहादुर योन्जन लामालाई जिल्ला अदालतले मङ्सिर २ गते आठ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

आरोपितको जायजेथा सम्पति नभएकाले सरकारी कोषबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति दिने समेत फैसला गरेको अदालतले जनाएको छ ।

न्यायाधीश चुरामन खड्काको इजलासले कसुर ठहर गर्दैे उक्त फैसला सुनाएको जिल्ला अदालत ललितपुरका श्रेष्तेदार नगेन्द्रकुमार कालाखेतीले बताए ।

पीडित महिलालाई आरोपितले ०७५ फागुन १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ चैत ७ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई ०७५ चैत ७ गते गिरफ्तार गरेको थियो भने पीडित महिलाको स्वास्थ्य परीक्षण चैत ७ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको थियो ।


दीपकप्रसाद घिमिरे