बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

  ०७६ असार २८ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बोदे बर्साइन नगरपालिका–६ का २१ वर्षीय मनोजकुमार दास तत्मालाई असार २७ गते जिल्ला अदालतले आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोपितलाई आठ वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।

अदालतको फैसला अनुसार आठ वर्ष कैद सजाय भोग्नुका साथै आरोपितले पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति समेत भराउनु पर्ने फैसलमा उल्लेख छ ।

पीडित बालिकालाई तत्माले ०७४ मङ्सिर २६ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले ०७४ पुस ५ गते उजुरी दर्ता गरेको थियो । आरोपित तत्मा २०७५ मङसिर १० गतेदेखि राजविराज कारागारमा थुनामा छन् ।


मनोहरकुमार पोखरेल