बलात्कार गरेको कसुरमा आठ वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना

०७५ माघ २६ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सप्तरीले महदेवा गाउँपालिका–२ का ५० वर्षीय रामसुन्दर राउतलाई माघ २५ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलाशले राउतलाई आठ वर्ष कैद सजाय गर्नुका साथै पीडकबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले बताए ।

विद्यालयबाट सरस्वती पूजा गरी घर फर्किरहेका बेला पीडित बालिकालाई ०७४ माघ ८ गते राउतले तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित सार्वजनिक बाटोबाट गहुँ खेतमा लगी बलात्कार गरेको भन्दै प्रहरीले ०७४ माघ १९ गते उनलाई गिरफ्तार गरेको थियो ।

पीडितका बुवाले ०७४ माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा हुलिया उजुरी दिएका थिए । सोही दिन पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले राउतविरूद्ध ०७४ माघ २१ गते उजुरी दर्ता गरेको थियो । जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलाशले राउत ०७४ फागुन १६ गतेदेखि पुर्पक्षका लागि राजविराज थुनामा छन् ।


मनोहरकुमार पोखरेल