बलात्कार गरेको आरोपमा सात वर्षकैदको फैसला

  ०७६ असार ३० गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै सिरहा नपा-१७ का एक १७ वर्षीय बालकलाई जिल्ला अदालतले असार २९ गते सात वर्षकैदको फैसला गरेको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताए । अधिकारीका अनुसार पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।

पीडित बालिकालाई आरोपितले ०७५ मङ्सिर १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा मङ्सिर १३ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर १३ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपितलाई मङ्सिर १३ गते गिरफ्तार गरेको थियो भने, जिल्ला अदालतको आदेशमा आरोपित बालक पर्साको बालसुधार गृहमा पुस ९ गतेदेखि थुनामा रहेका थिए ।


दुर्गा परियार