बलात्कार कसुर ठहर गर्दै १४ वर्ष कैदको फैसला

  ०७६ असोज २ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असोज १ गते घोराही उमनपा–१३ का विक्की भनिने ताराबहादुर नेपालीलाई १४ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश पुनाराम खनालको इजलासले नेपालीलाई दोषी ठहर गर्दै १४ वर्ष कैद तथा पीडितलाई ७५ हजार रुपियाँ क्षतिपुर्ति उपलव्ध गराउने फैसला गरेको स्रेस्तेदार धनीप्रसाद चपाईले बताए ।

पीडित बालिकालाई आरोपितले ०७५ असोज ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असोज ७ गते उजुरी दिएपछि सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको थियो ।


जे.एन.सागर