बलात्कार गरेको कसुरमा ८ वर्ष २ महिना कैदको फैसला

  ०७६ कात्तिक ४ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै कात्तिक ३ गते जिल्ला अदालतले १७ वर्षीय बालकलाई ८ वर्ष २ महिना कैदको फैसला गरेको छ  ।

जिल्ला अदालतका न्यायाधीश शङ्करराज बरालको इजलासले कैदसँगै पीडितलाई ७५ हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको श्रेष्तेदार यमप्रसाद बास्कोटाले बताए ।

पीडितलाई ०७६ वैशाख १६ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले वैशाख १७ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतले जेठ २ गते बालकलाई बालसुधार गृह नेपालगञ्जमा पठाएको थियो ।

कैद सजायको फैसला भएपनि बाल सुधार गृहमै रहने श्रेष्तेदार यमप्रसाद बास्कोटाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १८ गते जिल्ला अस्पताल गुलरियामा गरिएको थियो ।


मानबहादुर चौधरी