बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

  ०७७ फागुन ११ गते

१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा शारदा नगरपालिका-१५ का १६ वर्षीय बालकलाई १२ वर्ष कैद सजायको फैसला भएको भएपनि कसुर ठहरिँदा आरोपित नाबालक भएकाले चार वर्ष छुट गरी आठ वर्षको सजाय तोकिएको छ ।

जिल्ला अदालतका न्यायाधीश कुल प्रसाद पाण्डेको फागुन ९ गतेको इजलासले बालकलाई अभियोग दावी पुगेको भन्दै १२ वर्ष कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ३४ को उपदफा ४ बमोजिम चार वर्ष कैद छुट भइ आठ वर्षको कैद सजाय भएको जिल्ला न्यायाधिवक्ता भिमसेन काफ्लेले जानकारी दिनुभयो । उहाँले बालबालिकाको हकमा दुई तिहाइको सजाय कम भएका कारण आठ वर्ष कैद सजाय भएको बताउनुभयो ।

बालिकालाई ०७६ माघ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा ०७६ फागुन २० गते आरोपित विरूद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

आरोपितलाई ०७६ फागुन ९ गते अदालतको आदेशले बाल सुधार गृह नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।


मिना बुढाथोकी