बलात्कार कसुरमा ६ वर्ष ८ महिना कैद फैसला

  ०७६ भदौ १३ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि बाल सुधारगृह विराटगनरमा रहेका उदयपुरका १७ वर्षीय बालकलाई अदालतले भदौ १२ गते ६ वर्ष ८ महिना कैद र पीडितले पाउने गरी १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

 

न्यायाधीश दीपक खनालको इजलासले कसुर ठहर गर्दै कसुरदार नाबालक रहुञ्जेल बालसुधार गृहमा नै राख्न र साबालक ठहरिएपछि कारागार चलान गर्न आदेश गरेको स्रेस्तेदार राजकुमार आचार्यले बताए ।

 

१० वर्ष कैद फैसला सुनाइएका कसुरदार नाबालक ठहरिएकाले साबालकलाई हुने सजायको दुई तिहाई सजाय गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार सजाय निर्धारण भएको श्रेस्तेदार आर्चायले बताए ।

 

०७५ कात्तिक २२ गते पीडितलाई ३ दिन बन्धक बनाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

 

उजुरी लगत्तै गिरफ्तारीमा परेका बालकलाई अदालतले ०७५ मङ्सिर २० गते बाल सुधार गृहमा राख्ने आदेश दिएको थियो ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २५ गते गिरएको थियो ।


भरत खड्का