बलात्कार कसुरमा १२ वर्ष कैद फैसला

  २०७६ पुस २४ गते

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय रबिन्द्र तामाङलाई जिल्ला अदालत ललितपुरले १२ वर्ष कैद सजाय फैसला गरेको छ ।

अदालतले पुस २४ गते यस्तो फैसला गरेको हो । न्यायाधीश भरत लम्सालको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालत ललितपुरका स्रेष्तेदार नगेन्द्रकुमार कालाखेतीले बताउनु भयो । पीडित परिवारलाई ३० हजार रुपियाँ क्षतिपुर्ति समेत फैसला गरेको अदालतले जनाएको छ । पीडितलाई  आरोपितले ललितपुर महानगरपालिका २ सानेपास्थित रोयल गेष्ट हाउमसा २०७५ माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्व माघ २५ गते महानगरीय प्रहरी परीसर जावलाखेलमा उजुरी दिनुभएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण पाटन अस्पताल ललितपुरमा माघ २५ गते नै भएको थियो । आरोपितलाई २०७५ माघ २५ गते गिरफ्तार गरी अदालतमा पेश गरेपछि २०७५ फागुन २२ गतेको जिल्ला अदालत ललितपुरको आदेशमा पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको थियो ।


दीपकप्रसाद घिमिरे