बलात्कार कसुरमा १० वर्ष कैदको फैसला

  २०७६ पुस १७ गते

एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ललितपुर उपमहानगरपालिका–२१ खोकनाका २१ वर्षीय रविन भनिने मनिराज साहीलाई जिल्ला अदालत ललितपुरले पुस १५ गते १० वर्ष कैद सजाय फैसला गरेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले कसुर ठहर गर्दै कैद फैसला सुनाएको हो । साथै पीडितलाई २० हजार रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउनु पर्ने फैसला सुनाएको जिल्ला अदालत ललितपुरका श्रेष्तेदार नगेन्द्रकुमार कालाखेतीले बताउनुभयो ।

पीडित युवतीलाई आरोपितले २०७५ चैत ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ६ गते महानगरीय प्रहरी परिसर, जावलाखेलमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई चैत ६ गते नै गिरफ्तार गरेको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण चैत ६ गते पाटन अस्पताल ललितपुरमा गरिएको थियो । आरोपित बिरुद्ध प्रहरीले चैत २९ गते जिल्ला अदालत ललितपुरमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेको थियो ।


दीपकप्रसाद घिमिरे