बलात्कार कसुरमा आठ वर्ष कैदको फैसला

  ०७७ असोज २२ गते

६१ वर्षीया महिलालाई  बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  असोज २१ गते पीडितका नातेदार ३४ वर्षीय पुरुषलाई आठ वर्ष कैदको फैसला गरेको छ ।

न्यायधीश खड्कबहादुर केसीको इजलाशले आठ वर्षको कैद र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको जिल्ला अदालतका  श्रेस्तेदार  दुर्गाप्रसाद बस्यालले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७६ वैशाख ७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले वैशाख ९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको ०७६ वैशाख ३१ गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि थुनामा रहनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ८ गते जिल्ला अस्पताल, पाल्पामा गरिएको थियो ।


यज्ञमूर्ति तिमिल्सिना