बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ वैशाख ५ गते

मनोसामाजिक अपाङ्गता भएकी २६ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले रौतामाइ गाउँपालिका–७ का २४ वर्षीय राजु अछामेलाई वैशाख ५ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७७ चैत ११ गते बलात्कारपछि हत्या गरेको आरोपमा अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दहालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितलाई आरोपितले चैत ११ गते रौतामाइ गाउँपालिका–७ स्थित नवज्योती सामुदायिक वन क्षेत्रमा जबरजस्ती लगेको स्थानीयले देखेको र सोही आधारमा वैशाख ३ गते सामुदायिक वन क्षेत्रको खोल्सोमा मानव कङ्काल भेटिएपछि आरोपितलाई गिरफ्तार गरेको एसपी दहालले आरोपितलाई वैशाख ५ गते सार्वजनिक गरेको बताउनु भयो ।

चैत ११ गते आरोपितले पीडितलाई बलजफ्ती वन क्षेत्रतर्फ लगेको र वैशाख ३ गते स्थानीयले घाँस दाउरा गर्ने क्रममा सामुदायिक वन क्षेत्रको खोल्सीमा महिलाले लगाएको कपडा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

बलात्कारपछि ढुङ्गाले हिर्काएर हत्या गरेको अनुसन्धानका क्रममा आरोपितले स्वीकार गरेको एसपी दहालले बताउनु भयो ।

घटनास्थलमा पीडितले लगाएका चुरा,पोतेसहित आरोपितले लगाएको टोपी र मानव कङ्काल भेटिएको एसपी दहालले बताउनु भयो ।

मृतकका आफ्ना आफन्तको पहिचान नभएकाले १५ दिने सूचना सार्वजनिक गर्ने र त्यसपछि कङ्गाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) लाई जिम्मा दिने गरी कानुनी प्रक्रिया अघि बढाएको डिएसपी दहालले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा वैशाख ४ गते गरिएको छ ।


भरत खड्का