बलात्कारपछि हत्या गरेको कसुरमा तीन जनालाई ३२ वर्ष कैद सजायको फैसला

  ०७५ मङ्सिर २८ गते

पञ्चपुरी नपा–५ स्थित विद्याज्योति माविबाट एसइई परीक्षा दिइरहेकी १८ वर्षीया युवती गोरीकला रोकायको बलात्कारपछि हत्या भएको ठहर गर्दै घटनामा संलग्न तीनजनालाई जिल्ला अदालत सुर्खेतले मङ्सिर २६ गते जनही ३२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

बलात्कारपछि हत्यामा संलग्न रहेको कसुरमा अदालतले इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत टा«फिक प्रहरी जवान २९ वर्षीय हरिप्रसाद कोइराला, पञ्चपुरी नपा–८ माझीगाँउका २८ वर्षीय खुमप्रसाद बास्तोला र २० वर्षीय लक्ष्मी बास्तोलालाई उक्त कैद सजायको फैसला सुनाएको हो ।

पञ्चपुरी नपा–२ की गोरीकलालाई कोइराला र बास्तोलाद्वयले ०७४ चैत १३ गते इलाका प्रहरी कार्यालय बाबियाचौर नजिकैको जङ्गलमा बलात्कारपछि हत्या गरेका थिए ।

इन्सेकको पहलमा जिल्लास्थित अधिकारकर्मीको टोलीले घटना भए लगत्तै सो घटनाको स्थलगत अनुगमन गरेको थियो ।


दुर्गा थापा