बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

  ०७६ वैशाख ३० गते

कालिकोट जिल्लाको तिलागुफा नपा–५ जुविथाकी २० वर्षीया मनशोभा न्यौपानेलाई बलात्कारपछि हत्या गरेको कसुरमा सुर्खेत वीरेन्द्रनगर नपा–१ बाङ्गेसिमलका ३३ वर्षीय लक्ष्मीप्रसाद आचार्यलाई जिल्ला अदालतले वैशाख २९ गते जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश सनदचन्द्र लवटको इजलासले घटना प्रकृति, आरोपितको बयान र पोष्टमार्टम प्रतिवेदन लगायतका प्राप्त प्रमाणका आधारमा तीन दिनसम्म बन्धक बनाई यौनशोषण गरेको र विष खुवाई हत्या गरेको पुष्टी भएको उल्लेख गर्दै आचार्यलाई २० वर्ष जन्मकैद गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए ।

सुर्खेतबाट ट्रकमा कालिकोटतर्फ जाँदै गर्दा पहिरोले बाटो अवरूद्ध भएपछि दैलेखको आठबीस नपा–४  खिड्की जिउलास्थित आले होटलमा बास बसेको अवस्थामा ०७४ भदौ १८ गते ट्रक चालक लक्ष्मीप्रसादले विष खुवाई हत्या गरेको भन्दै पीडित पक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएको थियो ।

यातायात अवरूद्ध भएपछि पीडित न्यौपाने पैदल जान खोज्दा समेत आचार्यले होटलमै रोकेर ०७४ भदौ १६ गतेदेखि तीन दिनसम्म यौन शोषणपछि विष खुवाई हत्या गरेको आरोपमा प्रहरीले भदौ १८ गते नै घटनास्थलबाटै आचार्यलाई गिरफ्तार गरेको थियो । शवकोे पोष्टमार्टम भदौ १९ गते दैलेख जिल्ला अस्पतालमा गरिएको थियो ।


अमर सुनार