बलात्कारपछि हत्या गरी शव जलाइएको घटनाको सांसद र अधिकारकर्मीको टोलीद्वारा अनुगमन

  ०७५ फागुन ९ गते

११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाइएको घटनाको सत्यतथ्य छानविन गरी अनुसन्धानको दायरा बढाउन र दोषीलाई कारबाही गर्न माग गर्दै सांसद र अधिकारकर्मीको टोलीले घटनाको अनुगमन गरेको छ ।

प्रदेश २, प्रदेशसभाका दलित सांसद र इन्सेक प्रतिनिधिलगायतका अधिकारकर्मीहरुको संयुक्त टोलीले फागुन ८ गते घटनाको अनुगमन गरेको हो ।

प्रदेश सभा सदस्य सुन्दर बिक, प्रमिला दास, चमेली दास, इन्सेक जिल्ला प्रतिनिधि विनोदकुमार रविदास, मधेश फाण्डेशनका अध्यक्ष रुपा झा, अधिकारकर्मी कृष्णकुमार साह, धिरेन्द्र पे्रमर्शी, दलित अगुवा चन्देश्वर सदा र मुन्नी दासको संयुक्त अनुगमन टोलीले घटनाको स्थलगत अनुगमन गरेको हो ।

अलिकति पनि विचलित नभई घटनाका थप अनुसन्धान गर्न सुन्दर बिकले इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज राईलाई आग्रह गरे ।

एक महिना पहिले घर जलेर नष्ट हुनु एक महिनापछि छोरीको बलात्कारपछि हत्या गरी जलाएको घटना हुनु, अनुगमनको क्रममा जानकारी पाइएकोले अनुसन्धानको दायरा बढाउनु पर्ने अनुगमन टोलीले सुझाव दिएको छ ।

मिथिला नगरपालिका–३ हरीहरपुर, मगर टोलका ११ वर्षीया रेश्मा भनिने दुतिया रसाइलीको ०७५ फागुन १ गते राति बलात्कारपछि घाँटी थिची हत्या गरेर जलाएको आरोपमा प्रहरीले बटेश्वर गाउँपालिका–४ बैगाली टोलमा बस्ने २२ वर्षीय निरज जर्घामगरलाई गिरफ्तार गरि फागुन ७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सार्वजनिक अपराधका घटनामा नख्खु जेलमा सजाय भोगेका जर्घामगरले पुनः बलात्कार पछि हत्या गरी फरार भएका थिए ।

माघ २५ गतेदेखि मिथिला नपा–३ हरिहरपुरमा बस्दै आएका जर्घामगरले यस्तो घटना गरेको स्थानीयको आरोप छ ।

बलात्कारपछि हत्या गरिएकी बालिकाको शव मौले कामीको उखुबारीमा नग्न अवस्थामा आधा जलेको अवस्थामा फागुन २ गते बिहान फेला परेको थियो ।

मगरलाई जिल्ला प्रहरी कार्यालय धनुषामा फागुन ७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । मगरले बोल्न नसक्ने रेश्मालाई फ्रुटी र चाउचाउको लोभ देखाई फाकाएर उखुबारीमा बलात्कारपछि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
उनले घटना लुकाउनका लागि शव जलाउने प्रयास गरेको एसपी शेखर खनालले बताए । फागुन १ गते राति इन्द्र थापामगरकी छोरी मन्दिराको बिहेभोजमा नाच्दै गरेकी रेश्मालाई त्यहीँबाट फकाएर लगेर बलात्कारपछि हत्या गरेको आरोपमा निरजलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडितका काका देवराज रसाइलीले जिल्ला प्रहरी कार्यालय धनुषामा फागुन ६ गते नै उजुरी दिएको प्रहरीले जनायो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


विनोदकुमार रविदास