बलात्कारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै महिला समूहद्वारा प्रदर्शन

  ०७४ माघ २३ गते

बलात्कारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै माघ २३ गते इटहरी २० का महिला समूह र विभिन्न सङ्घसंस्थाले इटहरी उमनपा-२० तरहरा बजारमा प्रदर्शन गरेका छन् ।

संयुक्त महिला सञ्जालको अगुवाईमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागीतामा 'प्ले कार्ड' बोकेका सहभागीले वडा कार्यालय र प्रहरी चौकी तरहरा पुगेर दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । पीडक र घटना ढाकछोप गर्न भूमिका खेल्ने प्रहरी र वडाअध्यक्ष सहितलाई कडा कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।

यस्तै दोषीलाई कारबाहीका लागि इटहरीमा महिला सञ्जालले माघ २३ गते नै हस्ताक्षर अभियान समेत चलाएको छ । इटहरी उपमहानगरपालिका अगाडि गरिएको हस्ताक्षर अभियानमा विभिन्न समाजिक सङ्घसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।

०७४ पुस १६ गते इटहरी उमनपा-२ मा रहेको रोयल रिर्सोटमा १४ वर्षीया बालिकामाथि दुई जनाद्वारा भएको बलात्कारको घटना मिलाउन प्रहरी र इटहरी उमनपा-२० का वडाअध्यक्ष मणिकुमार श्रेष्ठ समेतको भूमिका रहेको भन्दै उनीहरूलाई समेत कारबाहीको माग गरिएको स्थानीय कमला खडकाले बताइन् ।

रकम लिएर बलात्कारको घटना मिलापत्र गराएको आरोप लागेका इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर चिरन्जीवि दाहाल र मुद्दा फाँटका सई भीमबहादुर खत्रीलाई प्रदेश प्रहरी कार्यालय विराटनगरले अनुसन्धानका लागि तानेको छ । भने मिलापत्रमा हस्ताक्षर गर्ने वडा अध्यक्ष मणिराम श्रेष्ठ माघ २२ गतेदेखि विदामा बसेका छन् ।

प्रहरीले बलात्कारको आरोप लागेका दुई जनामध्ये धरान उमनपा-१८ का ३६ वर्षीय जकम लिम्बुलाई माघ २० गते गिरफ्तार गरेको छ । अर्का आरोपित विराटनगरका मनिष श्रेष्ठ फरार छन् ।

घटनाका विषयमा छानबिन गर्न प्रदेश प्रहरी कार्यालय विराटनगरले एसएसपी हरिबहादुर पाल नेतृत्वमा छानविन समिति समेत बनाएको छ । गिरफ्तार भएकालाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको र फरारको खोजीका साथै घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउतले बताए ।

कक्षा १० मा पढ्ने १४ वर्षीया बालिकालाई अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुस १६ गते राति इटहरी उमनपा-२ स्थित रोयल रिसोर्टमा जकम र मनीष श्रेष्ठले वाइन खुवाएर बलात्कार गरेको र पीडितले प्रहरीलाई उजुरी दिए पनि त्यसबेला इलाका प्रहरी कार्यालय इटहरीका इञ्चार्ज चिरञ्जिवि दाहालले मोटो रकम लिएर मुद्दा दर्ता नगरी विचौलियासँग मिलेर मिलापत्र गराइ घटना गुपचुप राखेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडितलाई पनि पैसाको प्रलोभन देखाएको तर पैसा नदिएकाले एक महिना पछि घटना सार्वजनिक भएको जनाइएको छ ।


शेखर ढकाल