बलात्कारको कसूरमा बालकलाई ६ महिना कैद फैसला

  दैलेख । ०७६ माघ ११ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा १३ वर्षीय बालकलाई दैलेख जिल्ला अदालतले माघ १० गते ६ महिना कैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले उक्त फैसला गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।

कसूरदार बालक १४ वर्ष मुनिको भएको कारण बाल न्याय कार्यविधि अनुसार अधिकतम् ६ महिना कैद गर्न सकिने भए अनुरुप सजाय तोकेर पनि सजाय स्थगन गरिएको सूचना अधिकारी आचार्यले जानकारी बताउनुभयो ।

कसूर गर्दाको परिस्थिति, पारिवारिक अवस्था र सुध्रन सक्ने सम्भावना समेतलाई बिश्लेषण गरी बाल न्याय कार्यविधि अनुसार बिज्याईकर्ता बालकलाई सजाय तोकिए पनि हाललाई अभिभावकै जिम्मा लगाइएको बताइएको छ ।

०७६ असार ११ गते गाउँको एक विवाह कार्यक्रममा सहभागी भएको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ५ गते मात्र प्रहरीमा उजूरी गरेको थियो । पीडित बालिकाको कात्तिक ७ गते नै जिल्ला अस्पताल दैलेखमा स्वास्थ्य परीक्षण भएको थियो ।

प्रहरीले कात्तिक ७ गते बालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सकेर कात्तिक २० गते दैलेख जिल्ला अदालतमा मुद्दा पेश गरेकोमा घटनामा संलग्न भनिएका व्यक्ति बालक भएको कारण अदालतले अभिभावकको जिम्मा छोडेको जनाएको छ ।

 


अमर सुनार