बलात्कारका कारण गर्भवती भएकी बालिका उपचार पाउनबाट वञ्चित

  ०७४ चैत १७ गते

बलात्कारका कारण गर्भवती भएकी १३ वर्षीया बालिका विराटनगरस्थित कोशी अस्पताल भर्ना भएको चार दिनसम्म पनि अस्पतालको सेवा पाउनबाट वञ्चित भएकी छिन् ।

चैत १४ गते कोशी अस्पताल भर्ना भएपनि छोरीको उपचारबारे अस्पताल प्रशासनले कुनै जानकारी नदिएको पीडितकी ४० वर्षीया आमाले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिइन् । पीडितकी आमाले भनिन्-'गर्भ छिप्पिएकाले चाँडो उपचार गर्नु भन्ने सल्लाह ताप्लेजुङ जिल्ला अस्पतालबाट पायौँ । तर, अझै उपचार सुरू नहुँदा चिन्ता थपिएको छ ।' बालिकाको स्वास्थ्य अवस्था असहज हुँदै आएको पनि उनले बताइन् ।

पाँचथरको हिलिहाङ गाउँपालिका-७ का ३३ वर्षीय रामकुमार राईले ०७४ मङ्सिर १५ गते बलात्कार गरेपछि गर्भ रहेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित बालिकाको शरीरमा अस्वभाविक परिवर्तन देखिएपछि सोधपुछ गर्ने क्रममा राईले बलात्कार गरेको बालिकाले बताएपछि चैत ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै आरोपितलाई चैत ८ गते नै प्रहरीले गिरफ्तार गरेको छ ।


देवराज गुरूङ