बयान बदलेको आरोपमा एक महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला

  ०७५ असार २१ गते

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएको एक घटनाका निवेदकले बयान बदलेको आरोपमा जिल्ला अदालतले एक महिना कैद र १ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश काजीबहादुर राईको इजलासले असार २० गते उक्त फैसला सुनाएको हो ।

२४ वर्षीया युवतीले ०७४ माघ २ गते सानीभेरी गाउँपालिका-३ रुकुम पश्चिम निवासी नेपाल पत्रकार महासङ्घ रुकुम शाखाका अध्यक्ष ४० वर्षीय गणेश बिक चिन्तनले बलात्कार गरेको र आफूलाई नेपाल पत्रकार महासङ्घको कार्यालयमा काम गरेको पारिश्रमिक नदिएको भन्दै जेठ २२ गते जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) मा उजुरी दिएकी थिइन् ।

युवतीको उजुरीपछि सोही दिन आरोपित बिकलाई प्रहरीले गिरफ्तार गरी अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गरेको थियो ।

मुद्दामाथि अभियोग दावी पुष्टि नभएपछि अभियोग प्रमाणित हुन नसकेको भन्दै गणेश बिकलाई अदालतले सफाइ दिएको अधिवक्ता एक्कबहादुर पाण्डेले बताए ।


मनिषा केसी