बम विस्फोटन घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १७ गते

पूर्वसञ्चार तथा सूचना, प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले कालिकोट जिल्ला राजकोट नगरपालिका–४ घरभई सानोठिमी बस्दै आएका विजय भनिने ४३ वर्षीय ऐनबहादुर शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका सेक्रेटरी शाहीलाई प्रहरीले मध्यपुरथिमी नगरपालिका–१ मनोहरा सुकुम्वासी बस्तीबाट ०७७ असार १५ गते गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजिकै रहेको पूर्वमन्त्री बास्कोटाको घरमा ०७६ फागुन २८ गते बम बिस्फोट गराएको अभियोगमा फरार रहेका शाहीलाई प्रहरीले मुख्य योजनाकार रहेको अभियोगमा कारबाही प्रक्रिया अगाडि बढाएको डिएसपी गिरीको भनाई छ ।

डिएसपी गिरीले असार १६ गते शाहीको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरी जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । बम बिस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले यसअघि नै अभिषेक भनिने टेकबहादुर बि.क., अमृतबहादुर कुमाल, लक्ष्मण सेठी र देवीबहादुर गुरुङलाई गिरफ्तार गरेको थियो ।

जसमा जिल्ला अदालत भक्तपुरले चैत ३० गते देवीबहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र अन्य तीन जनालाई पुर्पक्षको लागि डिल्लीबजार कारागार चलान गरी थप अनुसन्धान एवम् कारबाही अगाडि बढाएको डिएसपी गिरीले जानकारी दिनुभयो ।


रमेश गिरी