बम विष्फोट र हत्या घटनाको आरोप लागेका सांसद मोहमद अफताव आलम निलम्बित

  ०७६ असोज २७ गते

बम विष्फोट र हत्या घटनाको आरोप लागेका सांसद मोहमद अफताव आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले असोज २७ गते सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो ।

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले असोज २६ गते बिहान गिरफ्तार गरेको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि ०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

उक्त घटनाका सम्बन्धमा इन्सेकलगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०६५ वैशाख २४ गते संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।

प्रतिवेदनमा उक्त घटनाको नेपाली कांग्रेसबाहेकका सबै राजनीतिक दलहरूले निष्पक्ष छानविनका लागि आह्वान गरेका,  घटना लुकाउन आलमले घाइते भएकाहरूलाई भारतको अज्ञात स्थानमा लगि उपचार गराएको र मृत्यु भएका व्यक्तिहरूको परिवारलाई घटना विवरण नसुनाउन धम्की दिएको पीडितको भनाइ रहेको उल्लेख छ ।

इन्सेकलगायत मानव अधिकार संस्थाको रोहवरमा घटनामा मृत्यु भएकाहरूमध्ये वसि अख्तर मिँयाकी आमा रुक्साना खातुन र पिन्टु सिंह भन्ने त्रिलोक प्रताप सिंहका पिता श्रीनारायण सिंहले जिल्ला प्रहरी कार्यालय रौतहटमा महमद अफताव आलमसहित चार जनाविरूद्ध किटानी उजुरी दिएका थिए ।

उक्त उजुरी दर्ता नगराएको प्रहरीले हुलाक मार्फत दिइएको उजुरी ९ दिनपछि ०६५ वैशाख १८ गते पीडित पक्षबाट सनाखत गराई दर्ता गरेको थियो ।

'घटनालाई मिलाउन मोहमद अफताव आलमले पीडित पक्षलाई २ लाख रुपियाँ दिन खोजेको र पीडित पक्षले १० लाख रुपियाँ मागेको भन्ने भनाइ जिल्ला प्रहरी कार्यालय रौतहट गौरका एसपी लक्ष्मण न्यौपानेको भनाइ रहेको पाइयो ।'-प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोस् ।


अनलाइन डेस्क