बम विष्फोटमा परी एकजना व्यापारी घाइते

  ०७४ फागुन १० गते

लहान नपा-१ स्थित लोकतान्त्रिक चोकमा फागुन १० गते दिउँसो शक्तिशाली प्रेसरकुकर बम विष्फोट भएको छ । पूर्वपश्चिम राजगमार्ग अन्तर्गत लहान बजारको मुख्य चोकमै शुभलाभ किराना पसल अगाडि दिउँसो १ बजे प्रेसर कुकर बम विष्फोट भएको हो ।

विष्फोटमा परी लहान नपा १ का ४६ वर्षीय अनिल अग्रवाल घाइते भएका छन् । उनको उपचार लहानस्थित जयमाता दी पोलिक्लिनिकमा भएको छ । घाइते भएका अग्रवाल शुभलाभ किराना पसल सञ्चालक हुन् ।

किराना पसल अगाडि बम विष्फोट गराउँदा बमको छर्रा लागेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बताए । उनले भने-'बमको छर्रा लागेर अग्रवाल घाइते भएका हुन् ।'

डिएसपी चन्दले घटनास्थलमा तराईमा सशस्त्र गतिविधि गर्दै आएको जयकृष्ण गोइत समूहको पर्चा भेटिएको बताए । तराईमाथि नेपाली शासनलाई अन्त गरी स्वतन्त्र तराई बनाउने उद्देश्यले आफ्नो गतिविधि बढाएको पर्चामा लेखिएको बताए ।


दुर्गा परियार