बम विष्फोटमा परी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु, ६ जना घाइते

  ०७६ मङ्सिर २८ गते

क्षिरेश्वरनाथ नपा–५ स्थित भिखारी साहको घरमा मङ्सिर २७ गते मध्यराति (१२ः१० बजे) भएको बम विष्फोट घटनामा परी भिखारीका ४८ वर्षीय छोरा राजेश साह र राजेशका ३० वर्षीय छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ ।

घटनामा परी गम्भीर घाइते हुनुभएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिरकुमार दाहालको उपचारका क्रममा मङ्सिर २८ गते बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ ।

इन्स्पेक्टर दाहालको उपचार सुनसरी जिल्लाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको थियो ।

भिखारी साहको घरमा बम राखिएको बारेमा जानकारी पाएर घटनास्थल पुगेर बम हो कि होइन भनेर एकीन गर्न लागेकै बेलामा विष्फोट भएको थियो ।

विष्फोटमा परेर तीन जना गम्भीर घाइते र तीन जना सामान्य घाइते भएका छन् । विष्फोटमा परी प्रहरी जवान रिजननाथ महतो, मृतक राजेश साहका १८ वर्षीय छोरा प्रकाश साह र १७ वर्षीया छोरी अञ्जनी साह गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका तीनै जनालाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि सुनसरीस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

त्यसैगरी मृतक राजेशका ६० वर्षीय बाबु भिखारी साहको टाउकोमा चोट लागेको छ । उहाँको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

विष्फोटमै परी मृतक राजेश साहका छिमेकी ४६ वर्षीय मो. अक्वर मन्सुरी र उहाँकी ३५ वर्षीया पत्नी सविना खातुन समेत घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ ।

घटना कसरी भयो
मङ्सिर २७ गते राति १२ बजे राजेश साहको घर भित्र गेटमा झोलामा बम जस्तो देखिने शङ्कास्पद वस्तु झुण्डयाइएको देखिएको भिखारी साहले बताउनुभएको छ ।

झोलामा शङ्कास्पद वस्तु देखेको थाहा पाएपछि राजेश साहले इलाका प्रहरी कार्यालय महेन्द्रनगर पुगेर इन्स्पेक्टर अमिर दाहालको मोवाइलबाट घरमा फोन गरी सबैजनालाई घर बाहिर निस्कन भन्नुभएको थियो ।

घटनास्थलमा राजेश साह इन्स्पेक्टरसहितको प्रहरी भ्यानसँगै आउनुभएको थियो । इन्स्पेक्टरको नेतृत्वमा शङ्कास्पद वस्तु बम हो वा होइन भनी हेरियो ।

तर, इन्स्पेक्टरले बम होइन जस्तो छ, पुरानो कुकर होला भनी सबै जनालाई बोलाउनुभएको थियो ।

सबैजना बम रहेको स्थान वरिपरी बसेर इन्स्पेक्टरले फोनमा कुरा गरिरहेकै बेलामा विष्फोट भएको घटनास्थलका प्रत्यक्षदर्शी घाइते भिखारी साहले इन्सेक धनुषा जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभएको छ ।

बम कसले र किन राखेको होे ? भन्ने बारेमा अहिलेसम्म एकीन जानकारी आउन नसकेको र घटनाबारे सुक्ष्म तरिकाले अनुसन्धान तीव्र रूपमा गरिरहेको डिएसपी रामेश्वर कार्कीले बताउनुभएको छ ।

photo20191214dhanusha (1)

photo20191214dhanusha (1)

photo20191214dhanusha (2)

photo20191214dhanusha (2)


दिपेन्द्रप्रसाद सिंह