बम निष्कृय बनाउँदा चारजना सुरक्षाकर्मी घाइते

  ०७३ मङ्सिर १२ गते

राजविराज नपा-१ स्थित जिल्ला प्रशासन कार्यालयमा राखिएको कुकर बम निष्कृय बनाउने क्रममा श्री कृष्ण दल गणका सिपाही चन्द्रबहादुर गुरुङ, प्रहरी हवल्दार कर्णबहादुर विक, प्रहरीहरू बिनोद राजवंशी र राजेश तामाङ घाइते भएका छन् ।

कार्यालय परिसरमा मङ्सिर १२ गते राखिएको बम निष्कृय बनाएको एक घण्टा पछि सिपाही गुरुङले आगो लगाएर नष्ट गर्न खोज्दा बारुदको झिल्को उछिटि्टएर उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

गुरुङको अनुहारमा र अन्य प्रहरीहरूको हातमा बारुदको आगोले पोलेर घाइते भएको पनि डिएसपी कार्कीले बताए । घाइतेहरूको स्थानीय गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको सुरक्षा र निगरानीमा रहने जिल्ला प्रशासन कार्यालयको नागरिकता अभिलेख फाँट रहेको कोठा नं. ५ नजिकै बम फेला परेपछि कर्मचारी र सेवाग्राही आतङ्कित बनेका थिए । एक सेवाग्राहीले वेवारिसे अवस्थामा रहेको झोलाबारे प्रहरीलाई खबर गरेपछि झोला भित्र कुकर बम राखिएको खुलासा भएको थियो ।

यसैबिच अखिल तराई मुक्ति मोर्चाले बम राखेको घटनाको जिम्मा लिएको छ । मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतले सञ्चारकर्मीहरूलाई फोन गरी उक्त बम राखेको घटनाको जिम्मा लिएका हुन् । उनले तराई मधेशमा सेना प्रहरी र बन्दुकको बलमा शान्तिपूर्ण आन्दोलनलाई दमन गर्दै लैजाने सरकारको प्रवृत्तिविरुद्ध चेतावनी स्वरुप बम राखिएको बताएका छन् । संयोजक यादवले अझ सशक्त गतिविधि अघि बढाउने चेतावनी समेत दिएका छन् ।


मनोहरकुमार पोखरेल