बन्धक बनाई बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

  ०७४ साउन २३ गते

१४ वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका-१ बस्ने २८ वर्षीय प्रमोद महतोलाई साउन २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले घरबाट भगाएर भारतको सितामढीमा लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर शम्भू पोखरेलले बताए ।

एक वर्षपहिले गाउँमै आरोपित प्रमोदले ती बालिकालाई ट्युसन पढाउने गरेको पीडित पक्षले जनाएको छ । साउन १७ गते आरोपित महतोले बालिकालाई भगाएर भारतको सितामढी स्थित साथीको घरमा पुर्‍याएका थिए ।

साउन १७ गते साँझ बालिकाका घरमा नभेटिएपछि अभिभावकले बालिका हराएको भन्दै खोजी गरेका थिए ।

खोजी गर्दा बालिका नभेटिएपछि अभिभावकले प्रहरी चौकी औरहीमा साउन १८ गते बालिका हराएको सूचना दिएका थिए । अभिभावक र प्रहरीले संयुक्त रूपमा खोजी गर्दा आरोपित शिक्षकले बालिकालाई भारतमा बन्धक बनाएर राखेको सुराक पाएका थिए । सोही आधारमा प्रहरी चौकी औरहीले अभिभावकको सहयोगमा साउन २१ गते सितामाढीबाट बालिकाको उद्धार गरेर ल्याएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जलेश्वरमा साउन २२ गते गरिएको छ ।


अजयकुमार साह