बन्द अवस्थामा रहेको खोप केन्द्र सुचारू गर्न माग

  ०७६ असार ८ गते

वीरेन्द्रनगर नपा–११ झुप्राखोलास्थित एक वर्ष अघिदेखि बन्द अवस्थामा रहेको गाउँघर खोप केन्द्र पुनः सञ्चालनमा ल्याउन माग गरिएको छ ।

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन पहल कार्यक्रम अन्र्तगत गठित मानव अधिकार निगरानी समूहले ०७६ असार ८ गते वीरेन्द्रनगर नपा, नगर स्वास्थ्य शाखा र ११ नम्बर वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

मागपत्रमा एक वर्षदेखि बन्द रहेको झुप्रास्थित खोप केन्द्रलाई नियमित रूपमा सञ्चालन गरी यहाँका वादी समुदायको बालबालिका र महिलाहरूको स्वास्थ्यको अधिकार सुनिश्चत गरिनुपर्ने उल्लेख छ ।

निगरानी समूहका अध्यक्ष लक्ष्मी शर्माको नेतृवमा गएको टोलीले वीरेन्द्रनगर नपा, नगर स्वास्थ्य प्रमुख उदय थापा र ११ नम्बर वडाध्यक्ष नन्दलाल शर्मा समक्ष ध्यानाकर्षण पत्र पेश गरेको थियो ।

ध्यानकर्षणपत्र ग्रहण गर्दै नगर स्वास्थ्य प्रमुख थापा र वडाध्यक्ष शर्माले खोप केन्द्र स्थापनाका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएको इन्सेक जिल्ला सहजकर्ता बिन्दुलाल रेग्मीले बताए । झुप्राखोलामा २ सय वादी समुदाय सहित अन्य जातका गरी २ सय १६ घरपरिवारको बसोबास रहेको छ ।

photo20190623surkhet (1)

photo20190623surkhet (3)

photo20190623surkhet (2)


दुर्गा थापा