बन्दीहरूले कैद मिनाहाको माग गर्दै इन्सेक मार्फत सरोकारवाला निकायहरूमा ज्ञापनपत्र पठाए

  ०७७ कात्तिक ७ गते

कोभिड–१९ सङ्क्रमणको जोखिम बढेको भन्दै केन्द्रीय कारागारमा रहेका कैदी बन्दीहरूले सम्पूण कैदी बन्दीहरूको कैद कट्टा तथा माफी मिनाहाको माग गरी सरोकारवाला निकायहरूमा अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक) मार्फत ज्ञापनपत्र पठाएका छन् ।

केन्द्रीय कारागार कैदी बन्दीहरूले कात्तिक ५ गते कारागार प्रमुख लक्ष्मीप्रसाद बास्कोटाको रोहवरमा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतममार्फत सरोकारवाला निकायहरूमा ज्ञापनपत्र पठाएका हुन् ।

इन्सेकमार्फत पठाइएको ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा मानव अधिकार समिति, राष्ट्रिय मानव अधिकार आयोग, कारागार व्यवस्थापन विभाग, संयुक्त राष्ट्रसङ्घ लगायत नौ ओटा सरोकारवाला निकायहरूलाई बुझाई दिन संबोधन गरिएको छ ।

कोभिड–१९ को विश्वव्यापि महामारीको सङ्कटपूर्ण अवस्थामा प्रत्येक व्यक्तिलाई अन्तराष्ट्रिय अनुबन्धले समेत बाँच्न पाउने अधिकारको व्यवस्था गरेको अवस्थामा सम्पूर्ण कैदी बन्दीहरूको जीवन रक्षाका लागि बाँकी कैद कट्टा तथा माफी मिनाहाका लागि ज्ञापनपत्रमा हार्दिक अनुरोध गर्दछौँ भनिएको छ ।

ज्ञापनपत्रमा नेपालका कारागारहरूमा क्षमता भन्दा अध्यधिक मात्रामा कैदी बन्दीहरूको चाप रहेकोले यसको संस्थागत दीर्घकालीन रूपमा न्यूनिकरण गर्न सरकारले सकारत्मक निकास निकाल्नुको कुनै पनि विकल्प नभएको र विश्व स्वास्थ्य सङ्गठन समेतले कारागारहरूमा चाप घटनाउनु पर्ने रदारवादी रणनीतिको रुपमा लिएको हुँदा नेपाल सरकार तथा सम्बन्धित निकायहरूले सोही अनुरुपको रणनीति अवलम्बन गर्न भनिएको छ ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा