बन्दको उल्लङ्घन गरेको आरोपमा मोटरसाइकल तोडफोड

  ०७५ साउन २९ गते

बन्दको उल्लङ्घन गरेको आरोपमा रा ३ प ३२९७ र रा ३ प ७६६६ नम्बरको मोटरसाइकल नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले साउन २९ गते तोडफोड गरेको प्रहरीले जनाएको  छ ।

लुहामबाट श्रीनगरतर्फआउँदै गर्दा छत्रेश्वरी गाउँपालिका-६ कल्लेखोला नजिकै चार जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकल रोकेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

तोडफोड भएका दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा राखेको लुहाम प्रहरीले जनाएको छ । सल्यानको श्रीनगरमा मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका ३० वर्षीय मनप्रसाद रोका र श्रीनगरमा अस्थाई बसोबास गर्दै आएका १८ वर्षीय नवीन गिरीको मोटर साइकलमा तोडफोड भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको हो ।

बन्दको समयमा मोटरसाइकल चलाएको भनी बन्दकर्ताले मोटरसाइकल तोडफोड गरेको हुनसक्ने प्रहरीको भनाई छ । तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


मिना बुढाथोकी