बन्दका दिन फेला परेका बम डिस्पोज, ठाउँठाउँमा नक्कली बम फेला

  ०७६ असार १० गते

सर्लाहीमा आफ्नो पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा प्रदेश ५ का जिल्लाहरूको जनजीवन प्रभावित बन्यो ।

प्रदेशका विभिन्न जिल्लाहरूमा कतै विष्फोट भए भने कतै शङ्कास्पद वस्तु फेला पारिएको छ । प्रहरीका अनुसार डर त्रास फैलाउन नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विष्फोट गराएको आशङ्का रहेको छ ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार रामपुर नपास्थित शहीद बहुमूखी क्याम्पसको परिसरमा असार ९ गते राति सिलिण्डर बम विस्फोट भएको छ । विष्फोटबाट क्याम्पसको पर्खालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

विस्फोट कसले र किन गरायो भन्ने अझै खुल्न सकेको छैन । यद्यपी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पुर्व सन्ध्यामा गराइएको विष्फोट भएकाले सोही पार्टीले विष्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ ।

टायर बालेर सिलिण्डर विष्फोट गराएको इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर भुपाल रानाले बताए ।

इन्सेक रूपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार असार १० गते बुटवल उपनपा-४ को विटिआई नजिकै  र बुटवल उपनपा-१० कालिकानगरस्थित कालिका चोकमा राखिएको होक्स बम नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलबाट आएको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए ।

इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार असार १० गते बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्यूठान नपा-४ जुम्रि बसपार्क नजिक र सरुमारानी गाउँपालिका-२ को प्यूठान भालुवाङ सडकखण्ड ददेरी सडकमा भेट्टाइएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले डिष्पोज गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथाकीले बताए ।

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार असार १० गते गुलरिया नपा-७ स्थित डिभिजन वन कार्यालय नजिक र बारबर्दिया नपा-९ कर्तीनया चोकमा भेट्टएिको कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजीत महराले बताए ।

इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार असार १० गते जिल्लाको तीन ठाँउमा सुतली बम फेला परेको छ ।

छत्रदेव गाउँपालिका-५ को वडा कार्यालय, सोही गाउँपालिका-७ को वडा कार्यालय र मालारानी गाउँपालिकाको मरेङको छेडाठाटीमा पनि फेला परेको बमलाई रामबाण गुल्मबाट आएको नेपाली सेनाको बम डिष्पोजल टोलीले डिष्पोज गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङग थापाले बताए ।

बन्दका कारण विद्यालयमा सञ्चालन भइरहेको परीक्षा समेत स्थागित भएको जिल्ला विकास तथा समन्वय एकाइका प्रमुख मनिराम पराजुलीले बताए ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज