बजार अनुगमन नहुँदा उपभोक्ताहरू मारमा

  ०७६ फागुन २७ गते

स्थानीय तहले बजार अनुगमन नीति नबनाउँदा उपभोक्ताहरू मारमा परेका छन् । बजार अनुगमन नीति नबनेपछि जिल्लाको सबैभन्दा ठूलो आर्थिक कारोबार हुने बनेपा बजारका ब्यापारीले आफू अनुकुल मूल्य निर्धारण गरेको पाइएको उपभोक्ता हित संरक्षण मञ्च काभ्रेका अध्यक्ष मधुसुधन वाग्लेले बताउनु भयो । बजार अनुगमन नहुँदा म्याद नाघेका औषधि तथा खाद्यन्नहरूको विक्रि भैरहेको उहाँले बताउनु भयो । ‘गुणस्तरहिन, मिसावटयुक्त खाद्यन्नको व्यापार निर्वाध भैरहेको छ’ अध्यक्ष वाग्लेले भन्नुभयो ‘यसले उपभोक्तालाई मारमा पारेको छ ।’
६ ओटा नगरपालिका र सातओटा गाउँपालिका रहेको काभ्रेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अधिकार प्रयोग गरेर स्थानीय तहले बजार अनुगमन गर्न सक्ने भए पनि अधिकांश स्थानीय तहले बजार अनुगमनका लागि छुट्टै ऐन, कानुन, नीति, कार्यविधि र निर्देशिका बनाएका छैनन् ।
स्थानीय तहलाई यो अधिकार भए पनि त्यसको प्रयोग नगर्दा उपभोक्ता मार परेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई (खतिवडा) ले बताउनु भयो । जिल्लाको ६ ओटा नगरपालिका मध्ये धुलिखेल नगरपालिकाले बजार अनुगमन ऐन बनाएको छ । यस्तै पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाले बजार अनुगमन कार्यविधि बनाएका छन् । पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले कार्यविधिकै आधारमा पसल, व्यवसाय दर्ता गर्नेदेखि अनुगमनको काम भइरहेको बताउनु भयो ।
सात ओटा गाउँपालिका मध्ये भुम्लु गाउँपालिकाले कार्यविधि मात्रै बनाएको छ । कार्यविधि बनेपछि एकपटक बजार अनुगमन गरेको उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनु भयो । अन्य कुनै पनि गाउँपालिकाले बजार अनुगमनका लागि ऐन र कानुन वा कार्यविधि केही बनाएका छैनन् ।
रोशी गाउँपालिकाले अहिलेसम्म बजार अनुगमनका लागि कुनै कानुन बनाउन सकेको छैन । बेथानचोक गाउँपालिकाले बजार अनुगमन ऐन, कानुन नबनाएको पालिका अध्यक्ष प्रेमबहादुर तिमिल्सिनाले बताउनु भयो ।
चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले आफ्नो पालिकाभित्र ठूलो बजार नभएकाले अनुगमन गर्न नीति आवश्यक नपर्ने बताउनु भयो । तेमाल गाउँपालिकाले पनि बजार अनुगमनका लागि कानुन नबनाएको पालिका अध्यक्ष सलाम सिंह तामाङको भनाई छ । डाँडापारी क्षेत्रको दुई ओटा गाउँपालिकाले पनि बजार अनुगमनका लागि कानुन बनाएका छैनन् । कानुनै बनाएर अनुगमन गर्नुपर्ने खालको बजार नरहेको खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोले बताउनु भयो ।


हिरामान वाइवा