फौजी किरा नियन्त्रण गरी भोकमरिबाट जोगाउन उजुरी

  ०७६ असोज २९ गते

कलैया उपमहानगरपालिका–२६ महेशपुर गाउँका ३१ वर्षीय वडा अध्यक्ष महेश साह असोज २८ गते वडाका ५ सय ५० किसानको खेत अनुगमन गरी फौजी किराले काटेर नष्ट गरेको धान बालीको विवरण सङ्कलन गरेको बताए ।

अनुगमनका क्रममा फौजी किराले वडाका ३ सय ३९ किसानको १ सय ५० विगा जमीनको ४ सय ८० टन धान नष्ट भएको उनले बताए ।

उनले कृषि ज्ञान केन्द्र कलैयामा फौजी किराको प्रकोपबाट धानको क्षति रोक्न र किसानलाई भोकमरीबाट जोगाउन पहल गरिदिन दर्ता नं १७९ उजुरी दर्ता गराएका छन् ।

उनले रातको समयमा यो किराले धान बाली अत्याधिक सखाप पारेको गाउँ नै भोकमरीको चपेटामा पर्ने खतराबाट जोगाउन माग गरेका छन्र ।

धान बालीमा भर पर्ने ५० वर्षीय किसान हरिन्द्रप्रसाद यादव अनिकाल परी भोकमरीको भय भएको बताए ।

नेपालको संविधानको धारा ३६ मा खाद्यसम्बन्धी हकको उपधारा (१) अनुसार प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुनेछ भनिएको छ । उपधारा २ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ र उपधारा ३ मा प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ भनिएको छ ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादले फौजी किरा नियन्त्रण गर्न गार्‍हो भएको बताए । उनले दिनको समयमा फौजी किरा लुकेर बस्ने र रातमा सक्रिय हुने भएकाले रातमा विषादी छर्न सल्लाह दिएको बताए ।

उनले पाकेको धान र अन्य बाली तुरून्त काटेर घरमा लैजानु पर्ने खेतमा राखेमा किराले काटेर नष्ट गर्ने बताए ।

उनले जिल्लामा भएको क्षतिको विवरण सङ्कलन गरिरहेको र एकिन डाटा सङ्कलन हुन बाँकी रहेको बताए ।


भोलानाथ पौडेल