फोरम नेतृका घरमा ढुङ्गामुढा र तालाबन्दी

  ०७४ भदौ १९ गते

सङ्घीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवम् पूर्व मन्त्री रेणु यादवलाई उनकै असन्तुष्ट कार्यकर्ताहरूले ढुङ्गामुढा गर्दै तालाबन्दी गरेर भदौ १९ गते राजविराज नपा-७ स्थित घरभित्र बन्धक बनाएका छन् ।

प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनको उम्मेदवार छनौटमा लामो समयदेखि पार्टीका लागि त्याग गरेकालाई उपेक्षा गरी नवप्रवेशीलाई टिकट दिएको भन्दै कार्यकर्ताहरूले घरअगाडि टायर बालेर नाराबाजीसमेत गरे ।

बेल्ही चपेना गाउँपालिकाको अध्यक्ष उम्मेदवार सुरेन्द्र यादवको नाम हटाई २० लाख रुपियाँ लिएर नवप्रवेशी चितरञ्जन यादवलाई टिकट दिलाएको आरोप लगाएर नेतृ यादवको घर अगाडि उनकै कार्यकर्ताहरूले बिहानैदेखि नाराबाजी गर्न थालेपछि उनको घरबाहिर व्यापक प्रहरी परिचालन गरिएको छ ।

घरमा रहेका कुर्सी तोडफोड गरी आफूसँग रहेका कार्यकर्ताहरूलाई हातपात गरेको बताउँदै उपाध्यक्ष रेणु यादवले विरोधका लागि पार्टी कार्यालय जानु पर्नेमा व्यक्तिगत घरमा आएर प्रदर्शन गर्नु अनुचित भएको बताइन् । उपाध्यक्ष यादवको घरको मूल ढोकामा ताला लगाउनु अघि कार्यकर्ताहरूले राजविराज नपा-३ स्थित जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका थिए ।


मनोहरकुमार पोखरेल