प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्र बलियो हुनेमा सरोकारवालाको जोड

  ०७५ माघ ४ गते

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले नै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रलाई खुम्च्याउन खोजे लोकतन्त्र कमजोर हुनेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

युरोपियन युनियनको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सिडा र फोरम एशियाको आयोजनामा माघ ३ गते ललितपुरमा नेपालमा प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रता विषयक एक कार्यक्रमका सहभागीहरूले प्रेस स्वतन्त्रताले लोकतन्त्र बलियो हुनेमा जोड दिएका हुन् ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले फोरम एशियाले नेपालको लोकतान्त्रिक परिवर्तन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि महत्वपूर्ण सहयोग पुर्‍याएको बताए ।

राष्ट्रिय सूचना आयोगकी आयुक्त एवम् प्रवक्ता यशोदा तिम्सिनाले प्रेस ताथा अभिव्यक्ति स्वतन्त्रताले नै लोकतन्त्रलाई बलियो बनाउने बताइन् ।

उनले नेपालमा ठूला लगानीका सञ्चार माध्यममा महिला नेतृत्वको अभाव रहेको उल्लेख गर्दै महिलाहरूलाई सम्पादकीय जिम्मेवारी नदिएका कारण पनि लोकतन्त्र कमजोर भएको धारणा राखिन् ।

वरिष्ठ पत्रकार तारानाथ दाहालले २०४६ सालको परिवर्तनपछि नेपालमा संवैधानिकरूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको व्यवस्था गरिएको स्मरण गर्दै त्यसको व्यवहारिक प्रयोगमा देवानी तथा फौजदारी संहिता २०७४ ले बाधा पुर्‍याएको धारणा राखे ।

नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धताभन्दा फरक व्यवहार गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउन खोजेको दाहालको आरोप छ ।

पत्रकार बबिता बस्नेतले नेपालको पत्रकारिता उद्योगका रूपमा विकास हुँदै आएको उल्लेख गरिन् ।

त्रिभुवन विश्व विद्यालय मानव शास्त्र विभाग प्रमुख डा. सुरेश ढकालले सूचनाको हकलाई खुम्च्याउन खोजेको शङ्का गर्दै नेपालको प्रेस स्वतन्त्रता र संवैधानिक तथा कार्यान्वयनको अवस्थाका बारेमा फोरम एशियामार्फत अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउने बताए ।

अधिवक्ता लिलाधर उपाध्यायले पत्रकारहरूले पत्रकार आचारसंहिता र कानुनी मर्यादालाई ख्याल गर्नु पर्ने सुझाव दिए ।

सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउन नदिन पत्रकारिता पेशाका सङ्गठनहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था संवैधानिक तथा कानुनी अवस्थामा राम्रो रहेको उल्लेख गर्दै देवानी तथा फौजदारी संहिता २०७४ ले खोज पत्रकारितामा बाधा पुर्‍याउने बताए ।

photo20190118lalitpur (1)

photo20190118lalitpur (2)


दीपकप्रसाद घिमिरे