प्राविधिक सेवा पाउन नसक्दा समस्या भएको कृषकहरुको गुनासो

  ०७७ पुस २९ गते

भेटेनरी प्राविधिक सेवा पाउन नसकेका कारण आफूहरुलाई समस्या हुने गरेको केआईसिंह गाउँपालिकाका कृषकहरुले गुनासो गरेका छन् ।

चौपायाहरु बिरामी पर्दा प्राविधिक सेवाका लागि गाउँपालिक कृषि शाखामा अनुरोध गर्दा कुनै सुनवाई नहुँने गरेका कारण चौपायाहरुको उपचारमा समस्या हुने गरेको केआईसिहँ गाउँपालिका–६ फलेडीका तारा बिकले गुनासो गर्नु भयो ।

गाई,गोरु र बाख्रा बिरामी पर्दा उपचारका लागि प्राविधिकहरु पठाई दिन पशु शाखामा अनुरोध गर्दा समय मिलाएर आउछौँ भन्ने गरेको भएपनि आफूहरुले सेवा पाउन नसकेको केआईसिहँ गाउँपालिका–३ बासुदेवीका कालु भुलले गुनासो गर्नु भयो ।

केआईसिहँ गाउँपालिका–१  तिखात्तर डुम्राकोटका कृषक केशबराज अवस्थीले लामो समयदेखि प्राविधिक सेवा पाउन नसक्दा आफूहरुलाई समस्या हुने गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘चौपायाहरु बिरामी पर्दा प्राविधिक सेवा पाउन सकिएको छैन् । पशु चौपायाहरुलाई बेकेर पशु शाखामा लिएर आउनु भन्ने जवाफ आउछ । पाहाडमा बाटो पनि राम्रो छैन् । कसरी बिरामी भएका चौपायालाई बोकेर शाखा कार्यालयमा पुगाउने ।’

केआईसिहँ गाउँपालिका–४ वायलका कुखुरा व्यवसायी तथा कृषक रामप्रसाद अवस्थीले समयमै प्राविधिकहरुको  सल्लाह नपाउने  गरेका कारण कृषकहरुले घाटा व्यहोर्नु परेको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–‘सरकारले किसानका लागि जतिसुकै राम्रो नीति ल्याए पनि कार्यन्वयनमा समस्या छ । प्राविधिक सेवा समेत समयमै पाउन सकिदैन् । कृषिमा केही गरौ भन्दा पनि घाटा व्यहोर्नु परेको छ ।’

केआईसिंह गाउँपालिका पशु सेवा केन्द्रका निमित्त प्रमुख केशबराज ओझाले कर्मचारी अभावका कारण सबै वडामा भनेकै समयमा जान नसकिएको बताउँनु भयो ।

उहाँले भन्नु भयो–‘आफूहरुले सकेजती सेवा दिइरहेका छौँ । कृषकहरु समान्य समस्याका लागि पनी घरमै बोलाउनु हुन्छ । कर्मचारी अभावका कारण उहाँहरुले बोलाएकै समयमा जान नसकिएको हो ।’

केआई सिंह गाउँपालिकाका उपाध्यक्ष मिना बिष्टले सात ओटै वडामा कर्मचारी राख्न नसकेका कारण कृषकहरुले समयमै घरदैलोमै सेवा पाउन नसकेको बताउँदै कर्मचारी व्यवस्थापनका लागि पहल गरिरहेको बताउनु भयो ।


बासुदेब जोशी