प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि चिकित्सकविहीन

  ०७६ जेठ २ गते

जुनिचाँदे गाउँपालिका गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि चिकित्सकविीहन हुँदा स्थानीय बासिन्दा उपचार सेवाबाट वञ्चित भएका छन् ।

एकजना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा तीन वर्षदेखि कार्यरत् मेडिकल अधिकृत डा. पवन शाक्य एक वर्षअघि एमडीको अध्ययन विदामा बसेपछि स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो ।

स्वास्थ्य केन्द्रको दरबन्दी होल्ड गरेर डाक्टर अध्ययन विदामा गएपछि उपचार सेवा प्रभावित भएको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण केसीले बताए ।

स्वास्थ्य सेवा विभागले डा. शाक्यलाई तीन वर्षे अध्ययन विदामा पठाएपनि वैकल्पिक व्यवस्था नगर्दा स्थानीयवासी उपचार सेवाबाट वञ्चित भएको अध्यक्ष केसीको भनाई छ ।

३० वर्षअघि स्थापना गरिएको स्वास्थ केन्द्रमा यसअघि यति लामो समयसम्म डाक्टर खाली नभएको  अध्यक्ष केसीले बताए ।

दुर्गमका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेडिकल अधिकृतको दरबन्दी स्थापना गरेपनि जिल्ला बाहिरका डाक्टर हुँदा गर्खाकोट र सो क्षेत्रका जनताले नियमित स्वास्थ सेवा नपाएको स्थानीय लोकेन्द्र शाहीले बताए ।

नौ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको सो स्वास्थ संस्थामा डाक्टर, स्टाफ नर्स र ल्याब असिस्टेण्ट पद पनि रिक्त छ । आवश्यक उपकरणको व्यवस्था भएपनि डाक्टर र ल्याब टेक्निसियन दुवै नहुँदा सेवा बन्द भएको हो ।

जाजरकोट अस्पताललगायत ३६ ओटा स्वास्थ्य संस्थामा औषधि र उपकरण, पुर्वाधार र जनशक्तिको अभाव पुर्ति हुन नसक्दा जिल्लाको स्वास्थ्य अवस्था नाजुक रहेको छ ।

स्वास्थ्य केन्द्र गर्खाकोटसँगै अन्य स्वास्थ्य केन्द्रहरूका लागि चिकित्सक पठाइदिन सम्बन्धित निकायमा ताकेता गरेको जिल्ला जनस्वास्थ्य कार्यालय, जाजरकोटका निमित्त प्रमुख रामपुकार साहले जानकारी दिए ।

साहले अहिले स्वास्थ्य क्षेत्रमा देखिएको कर्मचारी सामायोजनका कारण पनि स्वास्थ्य सेवातर्फका कर्मचारी परिपुर्ति हुननसकेको र केही समय भित्रै चिकित्सक तथा अन्य कर्मचारीको दरबन्दी पुर्ण हुने साहले बताए ।


दिनेशकुमार श्रेष्ठ