प्राथमिक स्वास्थ्य केन्द्रमा लगाइएको ताला इन्सेकको पहलमा खुलाइयो

  ०७६ वैशाख ११ गते

प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर प्रदीपकुमार मण्डलले लापरवाही तरिकाले केन्द्र सञ्चालन गरेको आरोपमा स्थानीयले गढी गाँउपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र सतैरझोरमा वैशाख १० गते लगाएको तालाबन्दी इन्सेक प्रतिनिधि जयकृष्ण यादवको पहलमा वैशाख ११ गते खुलाइएको छ ।

इन्सेक प्रतिनिधिलाई जनप्रतिनिधिहरूले ताला खुलाउने विषयमा सहज वातावरण निर्माण गर्न आग्रह गरेपछि इन्सेक प्रतिनिधिको पहलमा दुवै पक्षबीच छलफल गराई तालाबन्दी खुलाइएको हो ।

इन्सेक प्रतिनिधिले डाक्टर मण्डल, जनप्रतिनिधि र स्थानीयबीच वैशाख ११ गते सम्वाद गराई तालाबन्दी खुलाएको गढी गाउँपालिका–६ का अध्यक्ष बन्दुलाल सरबरियाले बताए ।

स्वास्थ्य केन्द्र प्रमुख डाक्टर मण्डलले राम्रोसँग कार्य सम्पादन नगरेको, कार्यालय समयमा नबसेको, स्वास्थ्य सेवा लिने सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा प्रभाव गर्न नसकेको, कर्मचारीलाई समेत अनुशासनमा राख्न नसकेको आरोप लगाउँदै स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका थिए ।

यसैबीच केन्द्र प्रमुख डाक्टर मण्डलले जिम्मेवारी निर्वाहमा कमजोर भएको र कार्यालय प्रमुख भएर काम गर्न असहज भएको भन्दै राजीनामा दिएका छन् ।

स्वास्थ्य प्रमुखले राजनीमा दिएपछि तत्कालका लागि अहेव वुधसेन यादवलाई जिम्मेवारी दिई स्वास्थ्य सेवा प्रवाह गर्ने गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए । सो प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना डाक्टरसहित आठ जना कर्मचारी रहेका छन् ।


जयकृष्ण यादव