प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा औषधिको अभाव, बिरामी मार्कामा

  ०७३ पुस १३ गते

औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधिको अभाव भएको छ ।

केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध हुने औषधिको चरम अभाव भएको हो ।

औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो हात फर्काउन थालेका छन् । खरिद प्रक्रिया रोकिँदा आपूर्तिमा समस्या भएर जिल्लाभरि नै औषधिको अभाव भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका स्टोरकिपर पदमराज जोशीले बताए । सिटामोल, डाइजिन, मेट्रो, बी कम्प्लेक्स, जस्ता अत्यावश्यक औषधिकोसमेत अभाव रहेको जोशीले बताए ।

उपचारका लागि पिपलाडी स्वास्थ्य चौकी पुगेकी स्थानियबासी रमेश रानाले ज्वरोको औषधि सिटामोलसमेत नपाउँदा बाहिर गएर खरिद गर्न स्वास्थ्यकर्मीले पर्चामा लेखेर पठाएको बताए ।

स्वास्थ्य चौकीका प्रमुख तिर्थराज भट्टले स्वास्थ्य चौकीलाई निःशुल्क उपलब्ध हुने ३६ प्रकारका औषधिमध्ये चार/पाँच प्रकारका औषधि मात्रै उपलब्ध रहेको बताए ।

जिल्ला तहबाटै औषधि खरिदका लागि रु ४८ लाखमा टेन्डर आह्वान गरी घटाघटमा २२ लाख रुपियाँमा टेण्डर स्वीकृत भएकाले १०/१५ दिनभित्रै ४० प्रकारका औषधि स्वास्थ्य संस्थामा आपूर्तिको व्यवस्था मिलाउन लागेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले बताए ।

केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि जिल्लाबाटै औषधिको आपूर्ति गरिन लागेको उनको भनाइ छ ।


कोमलनिरन्जन भाट