प्राथमिक स्वाथ्य केन्द्रमा तीन महिनादेखि डाक्टर नहुदाँ सेवा प्रभावित

  ०७६ फागुन २० गते

बारबर्दिया नगरपालिका–६ मनकापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनादेखि डाक्टर विहिन रहेको छ । डाक्टर नहुदाँ सेवाग्राही मर्कामा परेका छन् ।

स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर ज्ञानेन्द्र नेपाली मङ्सिर २३ गतेदेखि अध्ययन विदामा बसेपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको हो । अहिलेसम्म कहाँबाट कुन  डाक्टर आउने भन्ने बारमो केही जानकारी नभएको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख थिरबहादुर खड्काले बताउनु भयो ।

स्वास्थ्य केन्द्रमा गर्मी महिनामा दैनिक २ सय र जाडो महिनामा ७८ जनासम्म बिरामीहरू स्वास्थ्य जाँच र उपचारको लागि आउने गर्दछन् । वार्षिक औसतमा १७ हजार मानिसले स्वास्थ्य केन्द्रमा उपचारकालागि आउने गरेको स्वास्थ्य केन्द्रको तथ्याङ्कले देखाउँछ ।

डाक्टर नहुँदा धेरै बिरामीलाई नेपालगञ्ज र कोहलपुर रिफर गर्नु पर्ने बाध्यता रहेको खड्काले बताउनु भयो । स्वास्थ्य विमा सेवाको लागि पहिलो पोइन्ट उक्त प्राथमिक स्वास्थ्य केन्द्र रहेकाहरूलाई डाक्टर नुहँदा सेवाबाट बञ्चित हुन परेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृत डाक्टर रहने नीतिगत व्यवस्था रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र मनकापुरलाई सरकारले १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको छ ।

स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि कहिल्यै उपस्थित नभएको स्थानीय अगुवा कालिबहादुर चौधरीले बताउनु भयो । डाक्टरले नियमित रूपमा सेवा नदिँदा सेवाग्राही उपचारकालागि बाहिर जानुपर्ने बाध्यता रहेको र यसले आर्थिक तथा समय खर्च हुने भएकोले समस्या समाधानकालागि सम्बन्धित निकायमा पटक पटक आग्रह गरेपनि सुनवाइ नभएको स्थानीय अगुवा प्रणय वलीले बताउनु भयो ।

प्राथमिक स्वास्थ्य केन्द्र मनकापुरमा मडिकल अधिकृत एक, हेल्थ असिस्टेन्ट एक, स्टाफ नर्स एक, अहेव तीन, अनमी तीन, ल्याव असिसटेन्ट एक र कार्यालय सहयोगी तीन गरी १५ जनाको दरबन्दी रहेको छ । अन्य स्वास्थ्यकर्मी नियमित भए पनि मेडिकल अधिकृत नहुदाँ नहुँदा स्वास्थ्य केन्द्र दिदै आएको एक्सरे र इसिजी सेवा पुर्णरुपमा बन्द भएको छ ।

बारबर्दिया नपा  स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज शर्माले डाक्टर अध्ययन विदा गएको कारण सेवा दिन नसकेको स्वीकार गर्नुभयो । तत्काल  अर्को डाक्टरको व्यवस्था गर्न बारबर्दिया नगरपालिकाले  आवेदन माग गरिसकेको शर्माले बताउनु भयो ।

2020030201bardiya


मानबहादुर चौधरी