प्रहरी हिरासतमा रहेका शाहीलाई छाड्न सर्वोच्च अदालतको आदेश

  ०७६ जेठ २४ गते

साइबर क्राइमको आरोपमा गिरफ्तारीमा परेका ज्ञानेन्द्रबहादुर शाहीलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

जेठ २४ गते न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई छाड्न आदेश दिएको हो ।

अधिवक्ता महेश डङ्गोलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनलाई छाड्न अदालतले आदेश दिएको अदालतले जनाएको छ ।

जेठ १५ मा शाहीलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले गिरफ्तार गरेर काठमाडौँ पठाएको थियो । साइबर अपराध मुद्दामा गिरफ्तारीमा परेका उनलाई सुर्खेत प्रहरीले हिरासतमा राखेर यातना दिएको पीडितले आरोप लगाउँदै आएका छन् ।

तर, कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहले शाहीलाई सुर्खेतको हिरासतमै नराखी गिरफ्तार लगत्तै काठमाडौँ पठाइएको बताउँदै आएका छन् ।

उनलाई यातना दिए नदिएको फरेन्सिक जाँचबाट पत्ता लाग्ने हुँदा आफूहरूले भन्न नसक्ने नेशनल ट्रमा सेन्टर काठमाडौँका प्रमुख प्रमोद यादवले बताए । उनले शाहीको गोडाको कुर्कुच्चामा चोट लागेको बताए । प्रहरी निगरानीमा उनको उपचार ट्रमा सेन्टरमा भएको हो ।


विमला पौडेल