प्रहरी हिरासतमा एक जनाको मृत्यु, मानव अधिकारकर्मीद्वारा घटनाको अनुगमन

  ०७७ भदौ २७ गते

धनगढी उमनपा–५ जाईका १९ वर्षीय रोशन बिकको भदौ २६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र पत्रकारहरूको संयुक्त टोलीले भदौ २७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी अनुपशम्शेर जबराले भदौ २२ गते चोरी  मुद्दामा गिरफ्तारमा परेका रोशन  बिक र सोही ठाउँका  २३ वर्षीय रोहित पार्कीलाई भदौ २३ गते जिल्ला  अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको अवस्थामा भदौ २६ गते बिहान रोशन बिकले आफूले लगाएको सर्टले शौचालयको भेण्टिलेशनको ग्रीलमा झुण्डिएर आत्महत्या गरेको अनुगमन टोलीलाई बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख झङ्कर रावलले हिरासत भित्र आत्महत्या गर्नु गम्भीर विषय भएको बताउनु भयो ।

घटनाको  बस्तुस्थितिबारे सत्यतथ्य छानबिन तथा अनुसन्धान गरी यथाशीघ्र राष्ट्रिय मानव अधिकार आयोगमा प्रतिवेदन बुझाउन पनि उहाँले प्रहरीलाई आग्रह गर्नु भयो ।

मृतक बिकसँगै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका रोहित पार्कीले हिरासत भित्रै रहेको शौचालयमा पिसाब फेर्न जान्छु भनेर गएको तर चार/पाँच मिनेट भइसक्दा पनि नआएपछि चियाएर हेर्दा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको बताउनु भयो ।

मृतकका बुबा टेक बिकले घटना शङ्कास्पद भएकोले अनुसन्धान गरी पाउँ भनी भदौ २६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको बताउँदै आफूलाई दबाब परेको कारण छोराको शव बुझेको भए पनि छोराले आत्महत्या नगरेको अनुगमन टोलीलाई बताउनु भयो ।

प्रहरी हिरासतमा मृत्यु भएका बिकको शवको पोष्टमार्टम भदौ २६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको र भदौ २७ गते दाह संस्कार गरेको मर्तकका बुबा टेक बिकले बताउनु भयो ।

अनुगमन टोलीले सोही घटनाका सम्बन्धमा दिनेश एफएमले प्रकाशन तथा प्रसारण गरेको समाचारका विषयलाई लिएर सञ्चार गृह भित्र प्रवेश गरी एक समूहले गरेको आक्रमणका सम्बन्धमासमेत प्रहरीको ध्यानाकर्षण गराएको छ ।

एफएमभित्रै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्ने व्यक्तिहरूलाई तत्काल गिरफ्तार गरी कानुनी कारवाही अगाडि बढाउनसमेत जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी जबरालाई उक्त टोलीले अनुरोध गरेको छ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको र हिरासतमा भएको घटनाको छनबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजिव बस्नेतको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको एसपी जबराले अनुगमन टोलीलाई बताउनु भयो ।

photo20200912kailali (3)

photo20200912kailali (4)

photo20200912kailali (1)

photo20200912 kailali5 (2)

photo20200912 kailali5 (1)


मैनामोती चौधरी