प्रहरी हिरासतबाटै तीन जना थुनुवा 'फरार' !

  ०७६ असार २५ गते

महानगरीय प्रहरी प्रभाग भैँसेपाटीको हिरासतबाट असार २४ गते बिहान करिब २ बजे तीन जना थुनुवा शौचालयको ग्रिल भत्काएर भागेका छन् ।

फरार हुनेमा रामेछाप जिल्ला घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्दै आएका विकास भनिने २५ वर्षीय राजेश श्रेष्ठ, उदयपुर जिल्ला घर भई नयाँ बसपार्क काठमाडौँ बस्दै आएका २८ वर्षीय सम्सेर माझी र मकवानपुर जिल्ला गढी गाउँपालिका-४ घर भई कोटेश्वर बस्दै आएका २४ वर्षीय रविकुमार तिम्सिना रहेको प्रहरीले जनाएको छ ।

राजेश श्रेष्ठ र सम्सेर माझीलाई गत जेठ २८ गते प्रहरीले डाँका तथा चोरीको आरोपमा र तिम्सिनालाई  असार २८ गते लागु औषधको आरोपमा गिरफ्तार गरिएकोमा महानगरीय प्रहरी परिसर जावलाखेलमा थुनुवाकक्ष अभाव भएका कारण उनीहरूलाई भैँसेपाटीमा राखिएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।

थुनुवा भगाउन सहयोग गरेको आरोपमा भैँसेपाटी प्रभागमा रहेका ड्यूटी अधिकृतसहित तीन जनालाई तत्कालै निलम्वनको प्रक्रिया थालिएको डिएसपी चिमरियाले बताए ।

के कति कारणले थुनुवाहरू भागेका हुन् ? सोबारे सत्य तथ्य पत्ता लगाउन एसपी दुर्गा सिंहको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी रमेशबहादुर धानुकले बताए ।


दीपकप्रसाद घिमिरे