प्रहरी र स्थानीयबीच झडप, तीनजना प्रहरी सहित चारजना घाइते

  ०७५ माघ २७ गते

इलाका प्रहरी कार्यालय कपिलाकोटमा तोडफोड गर्न पुगेका स्थानीय र प्रहरीबीच माघ २६ गते साँझ पौने सात बजे झडप हुँदा तीन जना प्रहरीसहित चारजना घाइते भएका छन ।

माघ २४ गते मरिण गाउँपालिका–६ धमिलेका शिरबहादुर स्याङ्तानको विवाहमा भएको खुकुरी प्रहारको घटनामा संलग्नलाई प्रहरीले गिरफ्तार गरेपछि स्थानीयले प्रहरी कार्यालयमा तोडफोड गर्न पुगेका थिए ।

प्रहरी कार्यालयमा तोडफोड, ढुङ्गामुढा प्रहार भएपछि प्रहरीले ४५ राउण्ड हवाइफायर गरेको इलाका प्रहरी कार्यालय कपिलाकोटका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए ।

उनका अनुसार स्थानीयको ढुङ्गामुढा प्रहारबाट सई दिपबहादुर अर्याल, असई राजन खड्का र प्रहरी जवान विनोदकुमार शाह घाइते भएका छन् ।

घाइते अर्यालको ढाड र दाहिने गोडामा चोट लागेको छ । खड्काको छातिमा ढुङ्गाले लागेर चोट लागेको र शाहको दाहिने गोडामा चोट लागेको इन्स्पेक्टर कार्कीले बताए । उनीहरूको अवस्था सामान्य रहेको पनि उनले बताए ।

यस्तै घटनाको नेतृत्व गरेका मरिण गाउँपालिका–६ धमीलेका सार्कीमान मोक्तान प्रहरीको गोली लागी घाइते भएका छन् । उनको दाहिने पातामा गोली लागेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए ।

गोली लागि घाइते भएका मोक्तानको प्राथमिक स्वाथ्य केन्द्र कपिलाकोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उनले बताए ।

स्थानीयको ढुङगा प्रहारबाट घाइते प्रहरीको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भएको इन्स्पेक्टर कार्कीले बताए ।

प्रहरीले माघ २४ गते खुकुरी प्रहार गरेको आरोपमा स्थानीय शङ्कर गोले र दोर्जे गोलेलाई माघ २५ गते गिरफ्तार गरेको थियो भने खुकुरी प्रहारको आरोप लागेका ३८ वर्षिय गणेश गोलेलाई माघ २६ गते गिरफ्तार गरेको थियो ।

गणेश गोलेलाई गिरफ्तार गरेपछि करिब १ सय जनाको हाराहारीमा इलाका प्रहरी कार्यालय पुगेका स्थानीयले दुई ओटा सिलिण्डर ग्याँस समेत पड्काउने प्रयास गरेका थिए ।

२४ गते भएको खुकुरी प्रहारबाट चार जना घाइते भएका थिए । घाइतेमध्ये दुईजनाको काठमाडौँको कान्तिपुर अस्पताल र दुईजनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय तोडफोड गर्न आएका पाँच जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मरिण गाउँपालिका–६ का २१ वर्षीय दुर्गा बम्जन, २७ वर्षीय सुमन तामाङ, २४ वर्षीय राजकुमार गोले, ३५ वर्षीया सञ्जु गोले र २२ वर्षीया रितामाया वाईवालाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय कपिलाकोटमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै घटना भएको थाहा पाए लगत्तै इलाका प्रहरी कार्यालय कपिलाकोटमा पुगेका गाउँपालिका अध्यक्ष बम्जनले त्यहाँको अवस्था क्षत विक्षत रहेको बताए ।

उनले मानिसहरूको कुनै भिड त्यहाँ नभए पनि प्रहरी परिसरमा ढुङ्गामुढा तथा ग्याँसको सिलिण्डर यत्रतत्र छरपस्ट रहेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले घटनाको पुष्टि गरेका छन् । उनले रातको समयमा प्रहरी कार्यालयमा आक्रमण भएकाले हवाई फायर गर्न र गोली चलाउन बाध्य भएको बताए ।

उनका अनुसार घटनास्थलको अवस्था सामान्य भइसकेको छ । घटनास्थलको सुरक्षाका लागि त्यसतर्फ थप सुरक्षाकर्मी खटाइएको पनि ढकालले जानकारी दिए ।


बिमला पाण्डे